चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी तीन तहै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरेका छन् । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलो पटक आज गृह जिल्ला चितवन आएका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताए । चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केहि नहुने उनले बताए ।
‘गठबन्धन त भइरहेकै छ नि । अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघिय चुनावसम्म पनि रहन्छ’, उनले भने । चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन ।’ प्रचण्डको निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड आज चितवन आएका हुन् । प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्कने छन् ।
-थप समाचार : यी हुन् चुनावमा एक्ला एक्लै लड्न डराइरहेका नेताहरु
काठमाडौं – नेकपा एमालेको पोलिटब्यूरो बैठकमा घनश्याम भुसालले एउटा प्रस्ताव राखे । उनको प्रस्ताव थियो, बाम एकता । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा उनले बाम एकताको प्रस्ताव ल्याएका हुन् । उनको प्रस्तावमा अर्का नेता रघुजी पन्तले पनि साथ दिएका छन् । उनले बैठकमा भने, ‘नेकपा एमाले वाम एकताको मूल प्रवाह भएकाले र नेकपा विभाजन हुनुमा वैचारिक तथा सैद्धान्तिक कारण नभएकाले आगामी निर्वाचनमा वामपन्थी विजयलाई सुनिश्चित गर्न कम्युनिस्ट पार्टीको एकता गठबन्धन अहिलेको आवश्यकता छ ।’
कम्युनिस्ट पार्टीका अत्यधिक बहुसंख्यक सदस्य र कार्यकर्ताले कम्युनिस्ट पार्टीको एकता चाहेकाले कम्युनिस्ट एकता गठबन्धन गर्न आवश्यक रहेको बताए । एक पार्टी एकता गरेर पाँच वर्ष पनि टिकाउन नसकेका एमाले माओवादी नेताहरूले फेरी त्यही बाम एकताको भजन गाउन थालेका छन् । त्यसको पछाडि एकताभन्दा पनि चुनाव प्रमुख कारक मानिन्छ । यसरी बाम एकता, चुनावी गठबन्धन गर्नुपर्छ भन्ने पक्षमा घनश्याम मात्र छैनन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, वामदेव गौतमलगायत नेताहरू चुनावमा एक्ला एक्लै लड्न डराइरहेका छन् ।
विशेषगरी प्रचण्ड र माधव नेपाल त जसरी पनि चुनावी तालमेल गर्नुपर्छ भन्ने पक्षमा अडिग छन् । चुनावी तालमेल र बाम एकता नगरेर एक्लै चुनाव लडियो भने हारिन्छ भन्ने डर उनीहरूमा छ । पार्टी विभाजन र पार्टीभित्रको असन्तुष्टिले गर्दा घनश्यामलाई एक्लै चुनाव लड्ने हिम्मत छैन । जसले गर्दा उनी चुनाव केन्द्रित बाम एकताको पक्षमा जोडदार रूपले लागिरहेका छन् । आफ्नो जनाधार कमजोर भएपछि आफ्नो जित सुनिश्चितताका लागि बाम एकता, चुनावी गठबन्धनको पक्षमा लागेका अर्का हुन्, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । २०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । जुन बेला नेकपा एमालेसँग पार्टी एकता भइसकेको थियो । उनले ४८ हजार २७६ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी राप्रपा नेता विक्रम पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए । दुई पार्टीका मतदाताको मत पाउँदा पनि पाण्डेले राम्रै मत ल्याएका थिए ।
आगामी वर्ष हुने निर्वाचनमा प्रचण्डलाई पराजित हुने निकै डर छ । जसले गर्दा उनी अहिलेको पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने जोडदार माग गर्दै आएका छन् । स्थानीय तह निर्वाचनमा पनि उनको पार्टीको अस्तित्व जोगाउन उनले गठबन्धन बाहेक चुनावमा जाने परिकल्पना समेत गर्न सकेका छैनन् । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि जनाधार कमजोरको अवस्थामा छन् । जसले गर्दा गठबन्धनबाटै चुनाव लड्नुपर्नेमा उनको जोड छ । नेकपा एमालेबाट अलग्गिएर पार्टी गरेका नेपाल पहिलो पटक निर्वाचन लड्दैछन् । उनको जनाधार कस्तो छ भन्ने यकिन छैन । जसले गर्दा पनि उनी चुनावी गठबन्धनमा जोड दिइरहेका हुन् ।
गठबन्धनमा जोड दिइरहेका अर्का नेता हुन्,– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ।
२०७४ सालको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट उनी प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । तत्कालीन नेकपा नेता किसान श्रेष्ठले उनलाई पराजित गरेका थिए । विजयी श्रेष्ठले ३४ हजार ४८९ मत ल्याएका थिए । भने पौडेलले २७ हजार ६७५ मत ल्याएका थिए । त्यो बेला श्रेष्ठ नेकपा एमालेबाट चुनाव लडेका थिए । अहिले नेकपा एमाले विभाजित छ । श्रेष्ठ नेकपा एसमा आबद्ध छन् । आफ्नो जीत सुनिश्चित गर्नको लागि पौडेल गठबन्धनबाट चुनावी तालमेल गर्नुपर्छ भन्ने अडानमा छन् ।
त्यस्तै लामो समयदेखि बाम एकताको पक्षमा रहेका अर्का कम्युनिस्ट नेता हुन्,– बामदेव गौतम । २०७४ सालको निर्वाचनमा उनी बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए । तत्कालीन एमाले उपाध्यक्ष समेत रहेका नेता गौतम कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए ।
सञ्जयले ४४ हजार ८२९ मत पाएका थिए । भने बामदेवले ४४ हजार ७६ मत पाएका थिए । देशैभर बाम गठबन्धन लहर आइरहेका बेला वामदेव भने पराजित हुन पुगेका थिए । त्यही डरले उनी बाम एकता र चुनावी तालमेलको पक्षमा अडिग हुन्छन् । आफ्नो जनाधार कमजोर देख्ने, पाँच वर्षको अवधिमा लोकप्रिय काम गर्न नसकेका र विवादित बनेका नेताहरू यतिबेला बाम एकता, चुनावी तालमेल र सहकार्यको पक्षमा उभिरहेका छन् ।