• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

संसारभरिका मानिस सडकमा उत्रिनुहोस् : राष्ट्रपति जेलेन्स्की

Bydeep

Mar 24, 2022

रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गर्दै सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन भनेका छन्। रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडेको उनले बताएका छन्। निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधनमा संसारभरिका मानिसलाई बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका हुन्।

आफ्नो दैनिक सम्बोधनका क्रममा केही बेर अङ्ग्रेजीमा बोल्दै उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भनेका छन्। उनले भने, “तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्।” “मार्च २४ मा युद्ध रोक्न चाहने सबैजना एकत्रित हुनुस्।” उनले युक्रेनमा रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडिरहेको पनि बताए। रुसको निर्मम र मुढे बललाई संसारले रोक्नुपर्ने उनले बताए।

रुसले आक्रमण गरेको एक महिना बितिसकेको र यसबीच आफ्नो, सबै युक्रेनी जनताको अनि यस धरतीका सबै स्वतन्त्र मानिसको मुटु चुँडिएको उनले उल्लेख गरे। ब्रसल्समा नेटो बैठक हुन लागेको बेला उनको सम्बोधन आएको छ। बुधवार युक्रेनको राजधानी किएभका भूभागमा निरन्तर रुसी बमबारी भएका छन्। पश्चिमा विश्लेषकहरूले युक्रेनले प्रत्याक्रमण गरिरहेको र केही साना सहर पुन: आफ्नो कब्जामा लिएको बताएका छन्।

भूउपग्रहले खिचेका तस्बिरमा मारिओपोल सहरमा व्यापक क्षति पुगेको अनि आवासीय भवनहरूबाट धुवाँको मुस्लो निस्किरहेको देखिएको छ। उत्तरतर्फ रुसले डेस्ना नदीमाथिको एक महत्त्वपूर्ण पुल ध्वस्त पार्दै चेर्निहिव सहर र राजधानीबीचको मुख्य सम्पर्क मार्ग विच्छेद गरिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *