नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पाँच दलीय गठबन्धन निर्वाचनसम्मै कायम रहने बताएकी छन्। बिहीबार धनगढीस्थित आफ्नै निवासमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राणाले जनताको म्यान्डेट सबै दल मिलेर अघि बढ्नुपर्ने भएकाले निर्वाचनसम्मै गठबन्धन कायम रहने बताएकी हुन्। ‘एमाले मात्र छैन अरू पार्टी पनि छन्, ०७४ को चुनावले सिकाएको अनुभवले गठबन्धनमा जानैपर्छ। कांग्रेस लोकतान्त्रिक पार्टी हो गठबन्धन गर्ने/नगर्नेबारे बहस भएका छन्,’ राणाले भनिन्,‘हामी निर्णय गरेरै गठबन्धन बनाएर चुनावमा जान्छौं।’
उनले स्थानीय चुनाव हुनेमा पनि ढुक्क रहन आग्रह गरिन्। स्थानीय तहको निर्वाचनका लागि वडा तहदेखि सिफारिसका आधारमा उम्मेदवार बनाइने भएकाले जनतामाझ लोकप्रिय, जनताका समस्या बुझि सहयोग गर्ने र बढी भन्दा बढी मत ल्याउन सफल हुने योग्य व्यक्ति नै कांग्रेसको उम्मेदवार हुने उनले बताइन्। राणाले ३६४ दिन कांग्रेस हुनेहरुले भोट हाल्ने दिन ३६५ औ दिनमा पनि कांग्रेसलाई भोट हाल्न आग्रह गरिन्। कांग्रेसकै नेतृत्वमा ठूलाठूला परिवर्तन भएको दाबी गर्दै राणाले सामाजिक, आर्थिक र सूचना प्रविधिको परिवर्तन पनि कांग्रेसकै पालामा भएकोले जनताले कांग्रेसलाई नै भोट दिनपर्ने बताइन्।
आफूलाई कैलाली क्षेत्र नम्बर ५ का जनताले माया गरेरै अघिल्लो चुनावमा २२ हजार बढी मत दिएको उल्लेख गर्दै उनले पार्टीले टिकट दिए फेरि पनि यहीँ चुनाव लड्ने बताइन्। ‘म यहाँका जनतासँग म भिजिसकेको छु। त्यसैले यही चुनाव लड्छु, मलाई यही ठाउँ मनपर्छ,’ उनले भनिन्,‘०७४ को चुनावमा तीन/चार दल मिलेर मलाई हराएका हुन, म हारेको होइन।’ अहिले आफूलाई सर्लाहीमा चुनाव लड्न भनिएको भए पनि पार्टीले टिकट दिए धनगढीमै चुनाव लड्ने राणाको भनाइ छ।