बिहीबार तनहुँ सदरमुकाम दमौलीमा आठौँ तनहुँ महोत्सवको उद्घाटन चल्दै थियो। तनहुँ उद्योग वाणिज्य संघले विपी वनबाटिकामा आयोजना गरेको महोत्सवको उद्घाटनमा प्रमुख अतिथि थिए, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले महोत्सवलाई सम्बोधन गरेपछि पालो थियो, कांग्रेस नेता रामचन्द्र पौडेलको। सम्बोधनको क्रममा नेता पौडेलले आफैँले आफैँलाई धन्यवाद दिएका छन् । उनले एमसीसीको पक्षमा कसैले बोल्ने आँट नगरेको बेला एमसीसी पास गर्नुपर्ने पक्षमा आफूले मुख खोलेको भन्दै आफैँलाई धन्यवाद दिए।
‘एमसीसीको पक्षमा बोल्न कसैले आँट गरेका थिएनन्। एमसीसी राष्ट्रघाती हो। के के हो भनेर दुनियाँभरको प्रचार गरिएको थियो। त्यस्तो अवस्थामा एमसीसीको पक्षमा खुला रुपमा पास गर्नुपर्छ भनेर मैले जनमत सिर्जना गर्न मुख खोलेकोमा, मुख खोल्न नसकेकाहरूको मुख पनि खुलाइदिएकोमा म आफैँलाई पनि धन्यवाद दिन चाहान्छु’, उनले भने।
नेपालमा विद्युत् विकास गरेर मुलुकको गरिबीलाई उन्मुलन गर्ने महत्वपूर्ण अनुदान दृढतापूर्वक एमसीसी अनुमोदन पारित गराएर छाड्ने अठोट लिएकोमा प्रधानमन्त्री देउवालाई नेता पौडेलले नेपाली जनताको तर्फबाट भन्दै बधाई दिए।
अब गाउँबाट बेरोजगारी र गरिबी हटाउनुपर्ने बेला भएको नेता पौडेलको भनाइ छ। अगाडि थप्दै उनले भने, ‘हामीले गाउँमा बसौँ बसौँ भन्ने नारा लगायौँ । तर गाउँबाट अझै पनि पलायन भइरहेको अवस्था छ । गाउँमा पूर्वाधार पुगेका छन् तर गाउँबाट मान्छे तल झरिरहेका छन्। तिनलाई त्यहीँ रोक्नका लागि अब गाउँमै आम्दानी र रोजगारीको सिर्जना गर्नुपर्दछ । र यो देशमा कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकास गरेर आत्मनिर्भर बनाउने बाटोमा हामी जानपर्दछ।’
गाउँ गाउँमा उद्योग व्यवसाय सञ्चालन गर्नुपर्नेमा नेता पौडेलको जोड छ। कांग्रेसको १४ औँ अधिवेशन अगाडिसम्म पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको आलोचना मात्र गर्ने नेता पौडेलले पछिल्लो समय निकै प्रशंसा गर्न थालेका छन्।