काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अहिले प्रतियुनिट बिजुली औसतमा १० रुपैयाँ हाराहारीमा बेच्छ । तर आन्तरिक उत्पादनले माग नधानेकाले प्राधिकरणले इतिहासकै उच्च मूल्यमा भारतबाट बिजुली किन्दै छ । प्राधिकरणले आजै एक युनिट बिजुलीवापत भारु २० तिर्दै छ । बिजुली भारतबाट नेपाल ल्याउँदा विभिन्न शुल्क र प्रसारण क्षतिसमेत जोड्दा १ युनिटको लागत ३८ रुपैयाँ पर्छ । लोडसेडिङ हुन नदिन यो कदम चालेको प्राधिकरणको भनाइ छ । यसबाट उद्योगको लागत बढ्ने जोखिम त छँदैछ, स्वदेशी उत्पादनको मूल्यमा पनि दबाब पर्नेछ ।
नेपालमा अहिले १३ सय मेगावाट हाराहारी विद्युत् उत्पादन भइरहेको छ । प्राधिकरणका अनुसार औसत माग भने १६ सय ५० मेगावाट हाराहारी छ । नेपाली विद्युत् गृहहरुले वर्षायाममा २३ सय मेगावाटसम्म बिजुली उत्पादन गर्ने सामर्थ्य राख्छन् । तर हिउँदयाममा जडित क्षमताको ३० देखि ४० प्रतिशत मात्रै उत्पादन हुन्छ । यही कारण अहिले ३ सय ५० देखि ४ सय मेगावाट विद्युत् अपुग भएकाले आयातमा निर्भर हुनुपरेको ५ ।यहीबेला युक्रेन-रुस युद्धले कोइलाको मूल्य व्यापकरुपमा बढेपछि भारतमै सबैखाले इन्धनको भाउ उचालिएको छ । त्यसले बिजुलीको भाउ पनि स्वतः बढाएको हो ।
केही महिनाअघिसम्म नेपालले प्रतियुनिट भारु २ भन्दा सस्तोमा विद्युत् खरिद गरेको थियो । अहिले त्यही बिजुली भारु १२ मा किन्छुभन्दा पनि प्राधिकरणले पाएन । भारतीय ऊर्जा एक्सचेन्ज बजारमा बिहीबार साँझसम्म बिजुलीको भाउ प्रतियुनिट कम्तीमा साढे १५ भारतीय रुपियाँ पुगेको छ । लगभग साढे ३ सय मेगावाट बिजुली आयात बन्द हुँदा औद्योगिक क्षेत्रमा दुई दिन लोडसेडिङ गर्नुपर्ने स्थितिले प्राधिकरण एक युनिट बिजुलीका लागि भारु २० तिर्न तयार भएको छ ।
प्राधिकरणले जतिसुकै महँगो मूल्य तिरेर भए पनि कम्तीमा १ हप्ता लोडसेडिङ नगर्ने भनेको छ । हरेक २४ घण्टाका लागि फरकफरक मूल्यमा विद्युत् किन्नुपर्ने एक्सचेञ्ज बजारबाट बिहीबारकै भाउमा ३५ दिन बिजुली किन्नुपरे प्राधिकरणले थप ८ अर्बभन्दा बढी आर्थिक भार सहनुपर्नेछ । यो मूल्य आफू एक्लैले बेहोर्न कठिन पर्ने देखाउँदै प्राधिकरणले उद्योगीहरुलाई पनि घाटा व्यहोर्न आग्रह गरेको छ । अहिले प्रतियुनिट ९ रुपैयाँमा बिजुली पाइरहेका उद्योगहरुले थप मूल्य तिर्नुपरे औद्योगिक उत्पादनको लागत बढ्नेछ ।
वर्षात् सुरु भएपछि नेपालले बिजुली आयात गर्नु पर्दैन, तर त्यतिञ्जेल औद्योगिक उत्पादनको लागत बढ्दा यसको भारचाहिँ उपभोक्तामा पर्नेछ । अहिले पेट्रोलियम इन्धनदेखि खाद्यान्न र अरु सबैजसो वस्तुको भाउ बढेर महँगीले थिचिएका उपभोक्ताका लागि भारतीय बिजुली नयाँ समस्या बन्ने देखिएको छ । त्यति मात्रै होइन, विदेशी मुद्राको ढुकुटी रित्तिएर समस्यामा परेको अर्थतन्त्र थप अप्ठेरोमा धकेलिनेछ भने आर्थिक गतिविधि खुम्चिने डर पनि त्यत्तिकै छ ।
यस अवस्थाले नेपाल विद्युत प्राधिकरण पनि नेपाली उपभोक्ता र सरकारी ढुकुटीका लागि आयल निगमजस्तै नयाँ दुःख बनेर अगाडि आउने देखिएको छ । अझ कुलमान घिसिङ नै कार्यकारी निर्देशक भएका बेला यो अवस्था आएको छ । केही दिनको मूल्य चाप पनि थेग्न नसक्ने प्राधिकरणको अवस्थाले के देखाउँछ भने घिसिङले संस्थालाई बलियो र दिगो सुधारमा लैजानुको साटो सस्तो लोकप्रियताका लागि परालको घर बनाएका छन् । भित्रभित्रै कुशासन र वित्तीय विचलनले थलिएको छ ।