• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

दाँत उखेल्दा महिलाको ज्यान गएको घटनामा दुई वर्षपछि पक्राउ परे दन्त चिकित्सक

Bydeep

Mar 25, 2022

प्रहरीले महोत्तरीबाट कान्तिपुर डेन्टल प्रालिका सञ्चालक सञ्जयकुमार महतोलाई पक्राउ गरेको छ। इलाजसम्बन्धी कसुरमा दुई वर्षदेखि फरार रहेका महतोलाई प्रहरीले बिहीबार बेलुका पक्राउ गरेको हो। धनुषा बटेश्वर गाउँपालिका-३ स्थायी घर भएका महतोलाई बर्दिबास बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

महतो धनुषा मिथिला नगरपालिका-९ की १९ वर्षीया रानी सिंहको उपचारमा संलग्न भएका थिए। २०७६ साल चैत ८ गते सिंहलाई कान्तिपुर डेन्टलमा लगिएको थियो। उनका ६ वटा दाँत फुकालिएको थियो। भर्खरै मात्र विवाह गरेकी सिंहको सोही दिन बेलुका अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको थियो। रक्तश्राव भएपछि सिंहलाई उपचारका लागि ढल्केवर हुँदै जनकपुर पुर्‍याइएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

सिंहको मृत्युपछि महतोविरूद्ध सिंहका श्रीमान् अमिर महतोले जाहेरी दिएका थिए। प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार अदालतले महोतोको नाममा २०७७ साल पुस २६ गते पक्राउ पूर्जी जारी गरेको थियो। जाहेरी परेदेखि फरार भएका महतोलाई प्रहरीले खोजतलासको क्रममा पक्राउ गरेको पंगेनीले बताए। महतोसँग उपचारसम्बन्धी ज्ञान नभएको आरोप छ। उनी चिकित्सक हुन् वा होइनन् यकिन भइसकेको छैन। ‘पक्राउ परेपछि हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ,’ पंगेनीले भने, ‘उनी चिकित्सक हुन् वा होइनन् पत्ता लगाउने काम भइरहेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *