नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकमाथि प्रतिबन्ध लगाउन युक्रेनले नेपाललाई आग्रह गरेको छ । भारतस्थित युक्रेनको राजदूतावासले नेपाली राजदूतावासमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित पर्वतारोहण सम्बन्धि निकायलाई पत्र लेख्दै यस्तो आग्रह गरेको हो । युक्रेनले पत्रमा आफ्नो देशविरुद्ध रूसी सशस्त्र आक्रमणका क्रममा ११७ बालबालिका सहित हजारौं नागरिकको मृत्यु भएको र करोड आसपासमा आन्तरिक रुपमा विस्थापित हुन परेको उल्लेख गरेको छ ।
रक्तपातपूर्ण युद्ध सुरु गर्ने रुसका प्रतिनिधिलाई अन्तर्राष्ट्रिय ओलम्पिक समिति, अन्तर्राष्ट्रिय फुटबल, बास्केटबल, टेनिस, हकी, बक्सिङ, एथलेटिक्स जस्ता कयौं अन्तर्राष्ट्रिय खेल संघहरूले सहभागितामा प्रतिबन्ध लगाएका वा बाहिर राखेको भन्दै युक्रेनी दूतावासले नेपालसँग युक्रेनमा आक्रमण जारी रहेसम्मका लागि रुसी पर्वतारोहीमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेको छ ।
नेपालमा रुसी पर्वतारोहीलाई अन्य देशका पर्वतारोहण टीमद्वारा स्वागत नगराउन उसले आग्रह गरेको छ । युक्रेनले नेपाली हिमालहरू पवित्र र दिव्य रहेको भन्दै त्यस्तो स्थानमा हत्याका लागि जिम्मेवार देशको झण्डा फहराउनु चिन्ताको विषय भएको उल्लेख गरेको छ । पत्रमा भनिएको छ, ‘युक्रेनमा सामूहिक निर्मम हत्याका लागि जिम्मेवार रुसको झण्डा पवित्र र दिव्य नेपाली हिमालमा फहराउनु गम्भीर चिन्ताको विषय हो ।’
यो पनि पढ्नुहोस :देशलाई यो अवस्थासम्म ल्याउन नेता जति दोषी छन् त्यति नै भोट हाल्ने हात पनि दोषी छन् :राजेन्द्र लिङ्देन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बारम्बार शासन सत्तामा रहेर केही प्रगति गर्न नसक्ने पार्टीलाई चुनाव जिताएर फेरि गल्ती नगर्न आग्रह गरेका छन्। गोरखामा आयोजित आमसभामा बोल्दै उनले ठूलो भनिएको पार्टीले ३१ वर्षसम्म शासन सत्ताको बागडोर सञ्चालन गर्दा पनि देशका लागि हित हुने काम गर्न नसकेको दाबी गरे। ‘कुनै कांग्रेस एमाले र माओेवादीका साथीहरुले हात उठाएर भन्न सक्नुहुन्छ कि अब शेरबहादुर देउवालाई कतिचोटि र कति वर्ष प्रधानमन्त्री बनायो भने यो देश बन्छ?,’ लिङ्देनले भने, ‘देउवा, ओली र प्रचण्डलाई कतिचोटि र कति वर्ष अब प्रधानमन्त्री बनाइदियो भने देश बनाउँलान्? त्यसकारण फेरि पनि उनीहरुकै पार्टीलाई भोट दिएर गल्ती गर्नु हुँदैन।’
ठूला भनिएका यी पार्टीले देश बनाउलान् भनेर प्रतिक्षा गर्नु र गोरुले दुध दिन्छ भन्नुउस्तै भएको नेता लिङ्देनले बताए। ‘कांग्रेस, एमाले, माओवादीले चुनाव जितेर देश बन्छ भन्नु र साँढे दुहेर दुध झर्छ भन्नु उस्तै हो,’ उनले भने, ‘यस्तो मुर्खता अब गर्नु हुँदैन।’
ठूला दलले देशलाई उद्योग धन्दा विकास गर्नुको सट्टा देशलाई बेरोजगारीको केन्द्रका रुपमा परिणत गरेको र तिनैलाई भोट दिएर देश बन्छ भनेर गल्ती गर्न नहुने उनले बताए। ‘एउटा चुनाव हेरौँ न भन्ने छुट र सुविधा अब हामीलाई छैन,’ उनले भने, ‘नेता चोरै हो भन्ने कुरा थाहा हुँदाहुदै आफ्नो पार्टी पर्यो हात अर्कोतिर लाग्दैन भन्दै त्यही रुख, त्यही सूर्य, त्यही हँसियाहथौडामा भोट दिइराख्ने हो भने हामी आफू त बर्बाद भयौँ, हाम्रो भाबी सन्ततिको भविष्यसमेत बर्बाद बनाउनेछौं।’
एउटा गलत मान्छेलाई भोट दिएमा पूरै देशले नै दुःख पाउने भन्दै उनले आसन्न चुनावमा पुराना गल्ती सच्याउने मौका भएको बताए। ‘एक वर्षभित्र देशमा तीनवटा निर्वाचन हुँदैछ। यो तपाईँका लागि विगतको गल्ती सच्याउने एउटा अवसर हो,’ उनले भने, ‘देशलाई यो अवस्थासम्म ल्याउनमा नेता जति दोषी छन्। तिनलाई भोट हाल्ने हात पनि त्यति नै दोषी छन्।’