• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

आलु खेतीमा फौजी किरा ,किसानहरू चिन्तित

ByDeayam

Jun 6, 2022

रुकुम पश्चिमको मुसीकोट नगरपालिका ८ मा लगाइएको आलु खेतीमा फौजी किराले क्षति गरेको छ । दाना लाग्ने बेला भएको आलु खेती सुक्दै जाँदा किसानहरू चिन्तित बनेका छन् ।

फौजी किराको आक्रमणबाट त्यस क्षेत्रमा लगाइएको बर्खे आलु खेतीमा क्षति पुगेको वडा सदस्य हिमकुमार पाण्डेले जानकारी दिनुभयो । आलु उत्पादनका लागि उत्कृष्ट मानिएको त्यस क्षेत्रलाई सरकारले आलु पकेट क्षेत्रसमेत निर्धारण गरेको छ । वडा सदस्य पाण्डेका अनुसार आलु पकेट क्षेत्रको लसुनबारी, पाखापानी, झिम्मा, क्वाम्मा, घोरखानी, काप्रीबास लगायतका टोलमा लगाइएको आलुमा क्षति पुगेको छ ।

स्थानीयवासी भीमबहादुर बुढाले फौजी किराले फल्ने बेला भएका आलुमा क्षति पुर्‍याएकाे बताउनुभयो । आलुको पात र डाँढमा आक्रमण गरेर बोट सुक्दै गएको उहाँले बताउनुभयो । ठूलो मात्रामा लगाइएको आलु खेती दाना लाग्ने बेलामा सुक्दै गएपछि किसानहरू चिन्तित बनेको बुढाले जानकारी दिनुभयो ।

आलु खेती गरिरहेका किसान दिलबहादुर गिरीले किराले आलु बालीमा आक्रमण गरेको कुरा सुरुमै थाहा नपाएको बताउनुभयो । थाहा भएपछि विषादी ल्याएर किरा नियन्त्रण गर्न खोज्दा पनि नियन्त्रण गर्न नसकिएको गिरीले जनाउनुभयो । आफ्नो मुख्य पेसा नै कृषि भएको र यो वर्षको खेती किराले नष्ट गरेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

जिल्लाको मुसीकोट नगरपालिकाले आलुको उत्पादन क्षेत्र भएकोले किसानहरूलाई अनुदान दिएर सहयोग गरेको थियो । नगरपालिकाका कृषि शाखा प्रमुख प्रेमबहादुर खत्रीले त्यस क्षेत्रको झन्डै १० हजार हेक्टर जमिनमा आलु खेती गरिएको जानकारी दिनुभयो । फौजी किराले गरेको क्षतिबारे किसानले नगरपालिकामा जानकारी नगराएको उहाँले बताउनुभयो । आलु पकेट क्षेत्र सरकारले नै निर्धारण गरेको हुनाले किसानलाई आलुको बिउ, सिँचाइ लगायतका कुरामा नगरपालिकाले अनुदान दिने गरेको छ ।

नगरपालिकाले यस पटक बर्खे आलु खेतीका लागि दुई लाख ५० हजार रुपैयाँ बराबरको आलुको बिउ किसानलाई वितरण गरेको शाखा प्रमुख खत्रीले बताउनुभयो । पाँच हजार पाँच सय वटा आलुको बिउ दाना किसानलाई वितरण गरेको जानकारी दिँदै उहाँले दाना लाग्ने बेलाको आलु खेतीमा त्यसरी क्षति हुनु चिन्ताजनक रहेको उल्लेख गर्नुभयो । उहाँले किसानहरूसँग तत्कालै सम्पर्क गरेर आवश्यक पहल चाल्ने जानकारी दिनुभयो ।

यहाँ उत्पादन हुने आलुको बजारसमेत प्रशस्त रहेको छ । यस क्षेत्रमा उत्पादन भएको आलु जिल्लाका विभिन्न बजार क्षेत्रमा साथै सल्यान, दाङ, नेपालगञ्जमा समेत निर्यात हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *