• Sat. Sep 30th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

कति पाउँछन् तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाको परिवारले बीमा रकम ?

Bydeep

Jun 6, 2022

काठमाडौं । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको जहाज दुर्घटनामा परेको थियो । पोखराबाट बिहान ९.५५ बजे पोखराबाट जोमसोमका लागि उडान भरेको सो एयर मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । जहाजमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज कास्मी थापा थिए । जहाजमा चार जना भारतीय नागरिक, दुईजना अन्य देशका र १३ जना नेपाली यात्रु साथै चालक दलका तीन सदस्य गरी २२ जना रहेका थिए ।

दुर्घटनामा परी चालक दलका तीन सदस्यसहित इन्द्रबहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

सो हेलिकोेप्टर दुर्घटनामा मृत्यु भएकाको परिवारले जनही २० हजार अमेरिकी डलर पाउने भएका छन् । हालसम्म नेपालमा आन्तरिक उडान वार्सा महासन्धी र हेग प्रोटोकल अन्तर्गत रहेको छ । जसमा यसको दायित्व २० हजार अमेरिकी डलर रहेको छ । बिहीबारको अमेरिकी प्रतिडलर विनियम दर १२४ रुपैयाँ अनुसार हिसाब गर्दा तारा एयर दुर्घटनाबाट मृत्यु भएका मृतका परिवारले २४ लाख ८० हजार रुपैयाँ पाउँछन् ।

उक्त प्रोटोकल अन्तर्गत नै विमान कम्पनीले बीमा रकम दिने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्ण तारा एयर दुर्घटनामा मृत्यु भएका मृतका परिवारलाई वार्सा महासन्धीलाई नै आधार बनाएर बीमा रकम दिनुपर्ने बताउँछन् । उनका अनुसार उक्त रकम विमान कम्पनीले नभएर इन्स्युरेन्स कम्पनीले भुक्तानी गर्नुपर्छ ।

यस्तै सम्बन्धित वायुसेवा कम्पनीले चालक दलका सदस्यको छुट्टै बीमा गरेको हुन्छ । तारा एयरका एक पाइलटका अनुसार चालक दलका सदस्य (पाइलट) को १ करोड रुपैयाँ बराबरको बीमा गरिएको हुन्छ । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् १९९९ देखि लागू गरेको मोन्ट्रियल महासन्धि नेपालमा २०७५ मंसिर २९ देखि लागू भएको हो । अन्तराष्ट्रिय रुटमा यात्रा गर्ने नेपाली हवाई यात्रुहरुको दुर्घटनाबाट मृत्यु भएमा, चोटपटक लागेमा १ लाख १३ हजार १ सय एसडिआर (अन्तराष्ट्रिय मुद्रा कोषको मौद्रिक इकाइ) रहेको छ । यो रकम भनेको १ लाख ५८ हजार ३४० अमेरिकी डलर बराबर हो ।

समिति गठन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रालयले सोमबार वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल ‘सुमन’ अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको हो । आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

आइतबार कास्कीको पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको कलसाइन नाइन एन एइटी ट्विनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा पर्ने सानोसुरेमा १४ हजार ५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । उक्त विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य गरी २२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *