काठमाडौं । पछिल्लो समय विदेशबाट आउनेले लगाएका कपडामा सुन टाँसेर तस्करी गर्ने गरेको पाइएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ८८८ ग्राम सुनसहित ७ जनालाई पक्राउ गरेको छ ।
जेठ २१ गते दुबईबाट काठमाडौं उत्रिएका दुई जनालाई पछ्याउँदै जाँदा उनीहरुको साथबाट उक्त सुन बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरले जानकारी दिए । उनीहरुले ल्याएको सुन लिन आएका विभिन्न ‘लेयर’का अन्य ५ जना पनि पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार गुल्मीको जुनियाँ- ८ का ४२ वर्षीय सुरेशबहादुर शाही र कपिलवस्तुको बाणगंगा- ८ का २९ वर्षीय सन्दीपचन्द्र ठकुरी नेपाल वायुसेवा निगमको जहाजबाट दुई दिनअघि काठमाडौं उत्रिएका थिए । विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पछ्याउँदै नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानमा तानिएका उनीहरुले लगाएका कपडाहरु गहुँगो भएपछि प्रहरीले च्यातेर हेर्दा सुनलाई धुलो बनाएर टाँसिएको फेला परेको थियो । उनीहरुले लगाएका सबै कपडामा सुन टाँसिएको प्रहरीको भनाइ छ । त्यसपछि कपडालाई डढाएर सुन छुट्याइएको थियो ।
एसएसपी कुँवरका अनुसार ठकुरीले लगाएको कपडाबाट ५७२.१६० ग्राम र शाहीले लगाएको कपडाबाट ३१६.८१ ग्राम सुन निस्किएको छ । प्रारम्भिक अनुसन्धानमा सुन नेपालीले नै दुबईबाट पठाएको र भारत लैजान ल्याइएको खुलेको छ ।