• Sat. Sep 30th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

खाने तेलमा भन्सार महसुल छुट गरेर नागरिकलाई राहत दिन माग

Bydeep

Jun 6, 2022

काठमाण्डौ – नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घले खाने तेलमा लगाइएको भन्सार महसुल छुट गरेर नागरिकलाई राहत दिन सरकारसँग माग गरेको छ । सङ्घले आज आइतवार पत्रकार सम्मेलन गर्दै छिमेकी देश भारतले उच्च महङ्गीको चापबाट उपभोक्तालाई राहत दिनका लागि खाने तेलको भन्सार महसुल शून्य प्रतिशतमा झारेको उल्लेख गर्दै नेपालले पनि त्यही नीतिलाई अवलम्बन गरी नागरिकलाई राहत दिन आग्रह गरेको हो । सङ्घका अध्यक्ष सन्दीपकुमार अग्रवालले चालु आर्थिक वर्षको वैशाखसम्म ८७ अर्ब ६० करोड रुपैयाँ बराबरको वनस्पति तेल भारत निकासी भएको जानकारी दिँदै भारतले भन्सार महसुल शून्यमा झार्दा नेपालको निकासीमा कमी आउने उल्लेख गर्नुभयो ।

‘भन्सार महसुलका कारण नेपालको तेल उत्पादन महँगो पर्ने भएकाले नेपाल–भारत खुला सिमानाबाट अनधिकृत रूपमा सस्तो मूल्यमा भारतीय तेल चोरी पैठारी भइ नेपाल भित्रिने गरेको छ, यसबाट राजस्वमा कमी आउने अवस्था छ’, अध्यक्ष अग्रवालले भन्नुभयो । अहिले नेपालमा तीन लाख टन तेल खपत हुँदै आएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कच्चा पदार्थमा लगाइएको भन्सार महसुल शून्यमा झार्नुपर्ने बताउनुभयो । नेपालमा उद्योग सञ्चालनका लागि जग्गा प्राप्तिदेखि अन्य धेरै समस्या रहेको भन्दै उहाँले सरकारले अहिले ल्याएको नयाँ व्यवस्थाले नेपालका उद्योग सङ्कटमा पर्न सक्ने उल्लेख गर्नुुभयो ।

नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष राजेशकुमार अग्रवालले सरकारले एउटा उद्योगको संरक्षण गर्दा अर्को उद्योगलाई समस्या पार्ने नीति ल्याउन नहुने बताउनुभयो । उपाध्यक्ष अग्रवालले स्वदेशी उद्योग प्रोत्साहनका लागि सरकारले विशेष कदम चाल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । विसं २०४८ मा स्थापना भएको नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घअन्तर्गत अहिले २२ वटा उद्योग सञ्चालित छन् । तीन उद्योग सञ्चालनका क्रममा रहेको सङ्घले जनाएको छ । झन्डै एक खर्ब रुपैयाँ लगानी रहेको यस क्षेत्रमा १५ हजार जनाभन्दा बढी व्यक्ति कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *