काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले पार्टीको तर्फबाट सरकारमा सहभागीलाई फिर्ता बोलाउन गरेको निर्णयबारे मन्त्रीहरु नै बेखबर रहेको पाइएको छ । पार्टीको सचिवसमेत रहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूहरुसँग सल्लाह नै नगरी पार्टीले उक्त निर्णय गरेको बताइन् । ‘आधिकारिक जानकारी थिएन, सञ्चारमाध्यमबाट पार्टीको निर्णयबारे सुनेको हुँ’, उनले भनिन् ।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पनि पार्टी निर्णयबारे आफू बेखबर रहेको बताए । ‘हामीलाई त्यस्तो कुनै जानकारी थिएन, सञ्चारमाध्यमबाट थाहा पाएँ’, उनले भने । बाँकी मन्त्रीले पनि फिर्ता बोलाएको बारेमा आफूहरुलाई आधिकारिक जानकारी नभएको बताएका छन् । नेकपा एसले हिजो सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गर्ने निर्णय गरेको थियो । नयाँ मन्त्रीहरुको आजै सपथग्रहण कार्यक्रम राखिएको छ ।