बेपत्ता रहेका दुई युवक आज मृत फेला परेका छन्। दशरथचन्द नगरपालिका–१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका–३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी मृत फेला परेका हुन्।
जेठ १७ गतेदेखि बेपत्ता रहेका रावत आज स्थानीय मएडा जङ्गल मृत फेला परेका बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक मोहन साउँदले जानकारी दिए।
रावतको शव सडेगलेको र भिरमा अड्किएको अवस्थामा भेट्टिएको हो । बोल्न नसक्ने र सुस्त मनस्थिति भएका रावतको लडेर मृत्युु भएको हुनसक्ने प्रहरीले जनाएको छ। रावतको शव आफन्तको जिम्मा लगाइएको छ।
यस्तै धामीको शव सिगास–३ कै सल्लेबगडमा छाप्रेको रूखमा झुन्डिएको अवस्थामा भेट्टिएको हो।
उनको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । दुवै घटनाबारे अनुसन्धान भइरहेकाले जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस