प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगर्ने भएका छन् । नेकपा एकीकृत समाजवादी (एस) ले हाल बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाउन र नयाँ मन्त्री नियुक्त गर्न भने पनि प्रधानमन्त्री देउवाले त्यो अस्वीकार गरेका छन् ।
सोमबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले भर्खरै बजेट आएको र यस विषयमा प्रतिनिधिसभामा छलफल चलिरहेको अवस्थामा मन्त्री हेरफेर गर्नु ठीक नहुने बताए । नयाँ मन्त्री हेरफेरको कदमले बजेटमा असर पर्ने देखिएपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन गर्न नहुने उनको भनाइ थियो ।
यससँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङको पद यथावत रहेको छ ।
यसअघि नेकपा एसले भवानी खापुङबाहेक बहालवाला ४ मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्न बालुवाटार पत्राचार गरेको थियो । नयाँ मन्त्रीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई सिफारिस गरिएको थियो । यस्तै, खापुङलाई स्वास्थ्य राज्यमन्त्रीबाट मन्त्रीमा नियुक्ती गरिएको थियो ।
तर, सोमबार बसेको गठबन्धनको शीर्ष नेताहरुबीचको बैठकसँगै नयाँ मन्त्री बन्ने पर्खाइमा रहेकाहरुको ढोका तत्काललाई बन्द भएको छ ।