काठमाडौं । काठमाडौं महानगरपालिकाका चर्चित वडाध्यक्ष मुकुन्द रिजालले आज सडकमा थुप्रिएको फोहोर गाडीमा उठाइरहेको तस्बिर पोस्ट गरेका छन् । आफ्नो १६ नम्बर वडा अन्तरगतको सोह्रखुट्टेबाट सुरु गरेर कालधारा र शाशा गेटमा रहेको फोहोरलाई अल्पकालीन व्यवस्थापन गर्न जुटेको उनको भनाइ छ ।
ल्यान्डफिल साइटको अवरोधका कारण धेरै दिनदेखि काठमाडौंको फोहोर उठेको छैन । नवनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल अहोरात्र खटिए पनि समाधान निकाल्न सकेका छैनन् । यता, महानगरको बैठकमा मेयर बालेन्द्रलाई चुनौती दिएर चर्चामा आएको वडाध्यक्ष भने महानगरले नसकेको भन्दै ‘एक्सन’ मा उत्रेका हुन् । उनले आफूलाई सहयोग गर्ने काठमाडौं महानगरका वातावरण विभाग र सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै सल्लाह र सुझावको अपेक्षा समेत राखेका छन् ।
यस विषयमा थप बुझ्न वडाध्यक्षलाई सम्पर्क गर्दा उनका ‘सहयोगी’ किरण भट्टराईले फोन उठाए । वडाध्यक्ष बैठकमा व्यस्त रहेको भन्दै उनले सोधे, ‘सोह्रखुट्टेको फोहोर उठाएकोबारे कुरा गर्न त फोन गर्नुभएको होला नि ?’
सकारात्मक जवाफपछि उनी आफैँले वडाध्यक्षको प्रतिनिधित्व गर्दै भने, ‘महानगरपालिकाले यतिका दिनसम्म पनि फोहोर उठाउन नसकेपछि बाध्य भएर वडाले नै पहल गर्नु परेको हो । गाडी गुडाउनसमेत गाह्रो भएपछि उपाय त निकाल्नु पर्यो नि ।’ उठाइएको फोहोर वडाभित्रैका खाली ठाउँमा थुपारिने भट्टराईले बताए । ‘अहिले केही दिनका लागि मात्रै यसरी व्यवस्थापन गर्न लागिएको हो,’ उनले भने ।