• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

अपहरणपछि हत्या गरेकाे आराेपमा वडाध्यक्षसहित ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

ByDeayam

Jun 7, 2022

एक महिलाको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुना राख्न आदेश भएको छ । रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ११ का नवनिर्वाचित वडाध्यक्ष कुमारसिं बुढासहित तीन जनालाई थुनामा राख्न आदेश दिएको हो ।

सोमवार वडाध्यक्षसँगै त्यही वडाका निवर्तमान अध्यक्ष जयबहादुर बुढा र उहाँका भाइ अर्जुन बुढालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले पुथा उत्तरगंगा गाउँपालिका १० की ३९ वर्षीया जुनमाया बुढाको हत्या आरोपी तीन जनालाई कारागार चलान गर्ने आदेश भएको बताउनुभयो ।

वैशाख १९ गते पुथा उत्तरगंगा १० तकसेरामा पालिका चुनाव प्रचारप्रसारका क्रममा भएको विवादका क्रममा जुनमायालाई माओवादी कार्यकर्ताले अपहरण गरेर हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । उनीहरूसहित नाम नखुलाइएका २० जनाविरुद्ध २० गते किटानी जाहेरी परेको थियो भने २८ गते तीन जनालाई पक्राउ गरिएको थियो ।

अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा स्थानीयवासीले तकसेरादेखि झन्डै चार किलोमिटरमाथि जङ्गलमा शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए । कानमा रगत बगेको र निर्वस्त्र अवस्थामा महिलाको शव फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *