• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

काठमाडौंबाट आज १२ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा लगियो

ByDeayam

Jun 7, 2022

आज काठमाडौँ उपत्यकाबाट १५७ ट्रक अर्थात करिब १२ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा लगिएको महानगरपालिकाले जनाएको छ।

जेठ १० र ११ गते बञ्चरे डाँडास्थित साइटमा फोहोर व्यवस्थापन गरिएको थियो। जेठको १२, १३ र १४ गतेसम्म सिसडोलमा अन्तिम विसर्जन गरिएको थियो। त्यसपछि स्थानीय अवरोधकाकारण फोहोर ढुवानी रोकिएको थियो।

फोहोर ढुवानी रोकिएपछि महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले सहरी विकास मन्त्री, बागमती प्रदेशका मुख्य मन्त्रीसहित क्षेत्रगत अधिकारी तथा सरोकारवालासँग भेट गरेर समस्या समाधानका लागि छलफल गरेका थिए।

यसै क्रममा हिजो (जेठ २३ गते) सहरी विकास मन्त्रालयमा बसेको बैठकले त्रिपक्षीय प्रतिवद्धता गरेर फोहोर व्यवस्थापन खोल्ने निर्णय गरेको थियो।

सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री, महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोलको रोहबरमा त्रिपक्षीय प्रतिवद्धतामा हस्ताक्षर भएको थियो। हस्ताक्षरमा बञ्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाकातर्फबाट निर्देशक रविन्द्र वोहोरा, काठमाडौँ महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र धुनिबेँसी नगरपालिकाकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले हस्ताक्षर गरेका थिए।

यसैका आधारमा आजदेखि फोहोर ढुवानी थालिएको हो। ढुवानीका क्रममा स्थानीयहरुले अवरोध कायमै राखेपछि स्थनीय १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर साँझ ५ बजे छोडेको थियो। आफूले उठाएका मागहरु सम्बोधन नभएको जनाउँदै उनीहरुले सडक अवरोध गर्न खोजेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *