• Fri. Dec 1st, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

नेपालमा ०६३ साल यताकै चाँडो भित्रियो मनसुन, मौसमविद्हरु के भन्छन् ?

Bydeep

Jun 7, 2022

नेपालमा औसतभन्दा नौ दिन अगाडि नै मनसुन भित्रिएको छ । बंगालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण आइतबार पूर्वी नेपालबाट मनसुनको आगमन भएको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरेर जनाएकोे छ । औसतमा १३ जुन (यो वर्ष ३० जेठ) मा मनसुन भित्रिनुपर्ने भए पनि यसपटक बंगालको खाडीनजिकको निकोबार र एन्डमान टापुमा औसतभन्दा अघि नै (२ जेठ) मनसुनी गतिविधि सक्रिय हुँदा नेपालमा पनि चाँडै भित्रिएको हो । त्यसबाहेक नेपालमा प्रिमनसुन उत्तरार्धमा सक्रिय बनेको थियो । सामान्यतया त्यहाँ ८ जेठमा मनसुनी गतिविधि सुरु भएमा नेपालमा औसत समयमा मनसुन भित्रिने गर्छ ।

यस वर्ष पनि प्रदेश १ बाट प्रवेश गरेको मनसुन देशभर फैलने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार मनसुनका कारण पूर्वी भेगमा वर्षाको सम्भावना छ । तर, नेपालमा कायमै रहेको पश्चिमी वायुका कारण पश्चिमी क्षेत्रमा मनसुन फैलन केही दिन लाग्न सक्छ । सोमबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही भेगमा र मधेसका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ ।महाशाखाका अनुसार औसतमा ७ देखि १० दिनभित्र देशभर मनसुन फैलिएर भारी वर्षा हुने गर्छ । तर, यो वर्ष त्यसअघि नै भारी वर्षा हुन्छ वा हुँदैन भनेर महाशाखाले प्रक्षेपण गरिसकेको छैन ।

जेठको उत्तरार्धमा काठमाडौं उपत्यकामा हरेक दिनजसो वर्षा भइरहे पनि तराईमा भने गर्मी निकै बढेको छ । बाफ बोकेको जलवाष्पयुक्त हावा पूर्वबाट प्रवेश गरेमा समयमै रोपाइँ हुने गर्छ । कृषिका लागि कम्तीमा ६५ प्रतिशत पानी वर्षाबाट प्राप्त हुन्छ । करिब चार महिनाको मनसुनी अवधिमा मात्र नेपालमा औसत १५ सय मिलिमिटर पानी पर्छ, जुन वार्षिक वर्षाको ८०.५ प्रतिशत हो ।यस वर्ष मनसुनमा प्रदेश १ का उत्तरी, मधेसका अधिकांश क्षेत्र र बागमतीका दक्षिणी भेगबाहेक अन्य सबै क्षेत्रमा औसतभन्दा धेरै वर्षाको प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरिसकेको छ ।

पछिल्ला वर्षको तथ्यांक हेर्दा नेपालमा ०६३ यताकै चाँडो मनसुन भित्रिएको छ । ०६३ मा १८ जेठमा मनसुन भित्रिएकामा ०६४ मा २४ जेठमा मनसुन भित्रिएको थियो । त्यसयता २८ जेठअघि मनसुन भित्रिएको थिएन, बरु औसतभन्दा ढिलो गरी असारमा मनसुन भित्रिएको थियो । गत वर्ष पनि २८ जेठमा मनसुन आगमन भएर देशभर वर्षा भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मनसुन कुनै वर्ष चाँडो र ढिलो भित्रिँदैमा असामान्य मान्न नसकिने बताइन् । ‘औसतमा पछिल्ला वर्षमा ढिलो गरी मनसुन भित्रिने गरेको छ, बर्खा धकेलिँदै गएको रूपमा पनि मान्न सकिन्छ,’ उनले भनिन्, ‘तर, यस वर्ष चाँडै नै मनसुनको आगमन भएको छ, सामुद्रिक क्षेत्रको मौसमी प्रणालीका कारण ढिलो चाँडो हुन सक्छ ।’

सन् १९६८ देखिको तथ्यांक हेर्दा मनसुन लम्बिने र हिउँद पछाडि धकेलिन थालेको छ । वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार मनसुन कस्तो हुन्छ भनेर महासागरमा विकसित हुने घटनाक्रम, त्यहाँको तापक्रममा भर पर्छ । त्यसबाहेक हिउँदसहित ऋतुगत वर्षा, तापक्रम र हिमपातले पनि असर गर्छ ।
उदाहरणका लागि बर्खामा कास्की क्षेत्रमा धेरै वर्षा हुने गर्छ भने मनाङ–मुस्ताङमा निकै कम पानी पर्छ । ‘सन् १९६८ देखिको तथ्यांक हेर्दा मनसुन लम्बिने र हिउँद पछाडि धकेलिन थालेको छ,’ उनले भनिन् ।

यस अघिल्ला वर्षमा जुन १० मा मनसुन भित्रिने र २३ सेप्टेम्बरमा अन्त्य हुने आकलन जल तथा मौसम विज्ञान विभागले गर्दथ्यो । तर, पछिल्ला १० वर्षमा मनसुन आगमन र अन्त्यको तथ्यांक तथा ३० वर्षको मनसुनी वर्षाको विश्लेषण गरेर गत वर्षदेखि नयाँ प्रक्षेपण गरिएको हो । नेपालमा औसतमा १३ जुनमा भित्रिने र २ अक्टोबरमा अन्त्य हुने आकलन गरिन्छ ।

०७६ मा औसतभन्दा १० दिन ढिलो असार ५ मा मात्र मनसुन भित्रिएको थियो भने १९ दिन ढिलो गरी असोज २५ मा बहिर्गमन भएको थियो । गत वर्ष भने औसतभन्दा दुई दिन ढिला मात्र मनसुन सुरु भएको थियो ।नेपालमा सबैभन्दा छोटो अवधिको मनसुन ०३६ मा ७३ दिन मात्र कायम भएको थियो । ०६५ मा भने सबैभन्दा लामो मनसुन कायम भएको थियो, एक सय ३० दिन । गत वर्ष २५ असोजमा मनसुन बाहिरिएको थियो ।

नेपालमा डेढ दशकपछि यति चाँडै मनसुन भित्रिएको हो । यसअघि ०६३ मा १८ जेठमा मनसुन भित्रिएको थियो भने ०६४ मा २४ जेठमा मनसुन भित्रिएको थियो । त्यसयता २८ जेठअघि मनसुन भित्रिएको थिएन, बरु औसतभन्दा ढिलो गरी असारमा मनसुन भित्रिएको थियो । गत वर्ष पनि २८ जेठमा मनसुन आगमन भएर देशभर वर्षा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *