• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

मेयर बोलनलाई उद्योगी व्यवसायीको पनि साथ, होण्डाका १०७ शौचालय बने ‘पब्लिक ट्वाइलेट’

Bydeep

Jun 7, 2022

काठमाडौं । रेष्टुरेन्ट, होटल, पेट्रोल पम्प, व्यापारिक भवनको शौचालयलाई सर्वसाधारणलाई पनि प्रयोग गर्न दिने काठमाडौं महानगरपालिकाको अभियानमा विभिन्न क्षेत्रबाट समर्थन र सहयोग हुन थालेको छ । काठमाडौं महानगरपालिकाले महानगरभित्रको शौचालयको समस्या समाधान गर्न रेष्टुरेन्ट, होटल, पेट्रोल पम्प लगायतमा रहेका शौचालयलाई सर्वसाधारणलाई पनि प्रयोग गर्न दिने निर्णय गरेसँगै सो अभियानको अहिले चौतर्फी रूपमा समर्थन हुन थालेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले यो अभियान सार्वजनिक गरेपछि उनलाई भटेर आफ्नो शौचालय सर्वसाधारणका लागि पनि प्रयोग गर्न दिने सम्झौता गर्ने मानिसहरूको संख्या बढ्न थालेको हो । सोमबार मात्रै महानगरको यो अभियानमा व्यावसायिक घराना ज्योति ग्रुपले साथ दिएको छ । ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योतिले ग्रुप अन्तर्गतका होण्डा स्वरुमहरुका शौचालय निःशुल्क प्रयोग गर्न सकिने सम्झौता गरेका हुन् ।

उनले मेयर शाहसँग सम्झौता गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै भनेका छन्, ‘परिवर्तन सुरु हुन्छ हामीबाट, त्यसैले एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा, अब देखि सबै होण्डा स्वरूमहरूमा निःशुल्क शौचालय उपलब्ध हुने घोषणा गर्न पाउँदा हामी गर्व गर्दछौं ।’ उनले देशभर रहेका होण्डा स्वरूमका १०७ शौचालय सर्वसाधारणले प्रयोग गर्न पाउने उल्लेख गरेका छन् ।

गत वैशाख ३० गतेको निर्वाचनबाट महानगरको मेयरका रूपमा विजयी भएका शाह अहिले काठमाडौंमा शौचालयको समस्या समाधानको विकल्पको रूपमा यो अभियान अगाडि बढाइरहेका छन् । जसमा उनले विभिन्न क्षेत्रबाट राम्रो साथ र समर्थन पनि पाइरहेका छन् ।

गत सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले काठमाडौं महानगरपालिकाभित्र रहेका शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो । महानगरले हिजो (आइतबार) मात्रै एक सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको थियो ।

महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि निलो पृष्ठभूमिको संकेत चिन्ह पनि तयार पारिसकेको छ । सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारेको हो ।

गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीचभागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *