काभ्रे । विजुलीपुर गाउँका केहि युवाहरु सोमबार विहान काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाट स्थित सुनकोशीमा पौडी खेल्ने क्रममा डुबेका छन् । डुबेका मध्ये केहिलाई नेपाली सेनाको कालीजंग गण धुलिखेल र शशस्त्र प्रहरी पाँचखालको जल उद्धार टोलीले सकुशल उद्धार गरेको छ ।
‘विजुलीपुर गाउँका केहि युवाहरु बनभोजमा दोलालघाट आएका बखत पौडी खेल्ने क्रममा डुबेको खवर पाएसँगै सेना र प्रहरीको टोलीले उद्धार गरेका हुन्’–कालीजंग गणका गणपति कर्णेल मिलन थापाले भन्नुभयो–‘उद्धार टोलीले पौडी खेल्ने क्रममा डुबेका युवाहरुलाई उद्धारसँगै प्राथमिक उपचार पछि अस्पताल पु-याएको थियो ।’ काभ्रेको दोलालघाटमा सोमबार विहान सुनकोशी नदिमा पौडी खेलिरहेका युवाहरुको उद्धारका साथै वर्षातको समयमा ठुलो बाढी आएर अलपत्र परेका सर्वसाधारणको उद्दारका लागि जलविपद उद्धारको अभ्यास गरेको हो ।
कालीजंग गण धुलिखेल, शशस्त्र प्रहरी र नेपाल प्रहरीले उक्त अभ्यास गरेका हुन् । नागरिकहरुलाई मनसुनको समयमा हुन सक्ने सम्भावित जोखिम न्युनिकरण गर्न तथा यस्ता विपद आएको खण्डमा उद्धार र उपचारका लागि सुरक्षा निकायले खेल्ने भूमिकासँगै स्थानीय सरकार, नागरिक र सरोकारवाला निकायको भूमिकाका बारेमा जानकारी गराउने उदेश्यले जल विपद् उद्धारको अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो । मनसुन पुर्वतयारी कार्ययोजना अनुसार उक्त अभ्यास गरिएको हो ।
नेपाली सेना श्री नम्वर २६ बाहिनीका बाहिनीपति जर्नेल ज्योतिन्द्र महतले नेपाली सेनाले मनसुन पुर्वतयारी कार्ययोजना अनुसार हरेक जिल्लामा अभ्यास गरिरहेको बताउनु भयो । ‘२६ नम्वर बाहिनी अन्र्तगत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा एकै पटक अभ्यास मौषम २ गरिएको छ’–जर्नेल ज्योतिन्द्र महतले भन्नुभयो–‘हिउँदको समयमा हुन सक्ने आगलागी नियन्त्रण र अन्य विपदमा उद्दारका सम्र्दभमा पहिलो अभ्यास गरिएको थियो । मनसुन पुर्व दोश्रो अभ्यास गरिएको हो ।’ गत वर्ष असार १ गते सिन्धुपाल्चोकको हेलम्बु र मेचम्चीमा आएको बाढीका कारण काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका केहि क्षेत्र प्रभावित बनेका थिए ।
यो वर्ष मनसुन शुरु नहुँदै जिल्लाका सबै पालिकाहरुमा हुन सक्ने जोखिम र सम्भावित खतराका बारेमा पुर्व तयारीका लागि स्थानीय पालिकाका प्रमुखहरु, सरोकारवाला निकायका प्रतिनिधिहरु तथा स्थानीयहरुलाई तयारी अवस्थामा रहने गरी कार्य शुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो । अभ्यासका क्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, काभ्रे उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी, स्थानीय सरकारका प्रतिनिधिहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।
अभ्यासका क्रममा बेथान्चोक गाउँपालिकाक अध्यक्ष भगवान अधिकारी, भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेम भुजेल लगायतले स्थानीय तह अनुसार फरक फरक अवस्था रहेकाले सबै पालिकाले सोहि अनुसारको तयारी गर्नु पर्ने बताउनु भएको थियो । सुरक्षा निकायसँग जनशक्ति भएकाले जनशक्तिलाई साधन श्रोत सम्पन्न बनाउन स्थानीय सरकारको सहयोग आवश्यक रहेको सहभागिहरुले बताएका थिए ।
मनसुनबाट हुन सक्ने क्षति आंकलन गरी तत्काल उद्धार, उपचार र पुर्नस्थापनाका लागि सबै पालिका अन्र्तगतका वडा कार्यालयहरु तयारी अवस्थामा रहन स्थानीय सरकार मार्फत जानकारी गराईएको छ भने मातहतका प्रहरी युनिटहरु र सरोकारवाला निकायहरु पनि सचेत र तयारी अवस्थामा रहन अपिल गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो ।