काठमाडौं महानगरपालिकामा कार्यपालिका सदस्यका लागि मतदान सकिएको छ । मंगलबार महानगरको कार्यपालिकाका लागि आवश्यक ८ सदस्यका लागि निर्वाचन गरिएको छ । राष्ट्रियसभा गृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान गरिएको छ । नगरप्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल लगायत काठमाडौं महानगरपालिकाका १ सय ६० सदस्यले मतदान गरेका छन् ।
प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदमा उम्मेदवारी नपरेकोले मतदाता संख्या १६० भएको जनाइएको छ । सो निर्वाचनबाट ८ जना कार्यपालिका सदस्य निर्वाचित हुँदैछन् । जसमध्ये ५ जना वडाका निर्वाचित महिला सदस्य र बाँकी ३ जना दलित वा अल्पसंख्यकबाट उम्मेदवारी दिएकाहरु कार्यपालिका सदस्यमा निर्वाचित हुनेछन् ।