• Thu. Nov 30th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

९१ रोपनी सरकारी जग्गामा आलेले चलखेल गरेको जब माधव नेपालले थाहा पाएपछि !

Bydeep

Jun 8, 2022

काठमाडौं- पर्यटनमन्त्री प्रेम आलेले मन्त्रिपरिषद्मा लागेको एउटा प्रस्तावले उनी आफै समस्यामा परेका छन् । आले शक्तिकेन्द्रबाट परिचालित भएर उक्त प्रस्ताव लागेको भन्दै पार्टीमै चर्को आलोचना भएको छ । मन्त्री आलेले नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको जग्गा निजी क्षेत्रलाई भाडामा दिन मन्त्रिपरिषद्मा लगेको प्रस्ताव थाहा पाएपछि उनकै पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेर रोकेको खुलेपछि आले संकटमा परेका हुन्।

मन्त्री आलेले केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलवरिपरिको जग्गा निजी क्षेत्रलाई भाडामा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगे। पार्टी अध्यक्ष नेपालले यो जानकारी पाएपछि तुरुन्त रोक्न प्रधानमन्त्रीलाई आग्रह गरे । यो खबर बाहिरीएपछि उनकै पार्टीभित्र आलेको चर्को आलोचना भैरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रवरिपरि रहेको नागरिक उड्डयन प्राधिकरण स्वामित्वको जग्गा निजी क्षेत्रलाई भाडामा दिने प्रस्ताव मन्त्री आलेले मन्त्रिपरिषद्मा लगेपछि उनकै पार्टीका नेताहरूले आले शक्तिकेन्द्रबाट परिचालित भएको आरोप लगाएका छन्।

प्राधिकरणको जग्गा निजी क्षेत्रलाई भाडामा दिनु नहुने भन्दै विपद् आइपर्दा खाली जग्गा आवश्यक पर्ने भएकाले यसलाई संरक्षण गरेर राखिनुपर्ने भन्दै अध्यक्ष नेपालले यसलाई तत्काल रोक्न प्रधानमन्त्रीलाई आग्रह गरेको बुझिएको छ । अध्यक्ष नेपालले विमानस्थलको सुरक्षामा पनि यसले गम्भीर असर पार्ने बताएका छन् । अध्यक्ष नेपाललाई पर्यटनमन्त्री आलेले कुनै जबाफ दिएका छैनन्। उनले प्राधिकरणको स्वामित्वमा रहेको करिब ९१ रोपनी जग्गा निजी क्षेत्रलाई दिन प्रस्ताव गरेका हुन्।

पर्यटनमन्त्री आलेले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्त गरेपछि उनले प्राधिकरणको स्वामित्वमा रहेको जग्गा भाडामा दिने निर्णय गरेर मन्त्रिपरिषद्मा पठाएको बुझिएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको १ सय ५० बिघा जग्गा पनि व्यापारीलाई भाडामा दिने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको हो। त्यहाँको जग्गा अतिक्रमणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई अम्ब्रेला स्ट्रिट बनाउने प्रस्ताव पनि मन्त्रिपरिषद्मा पुगेको छ। महानिर्देशक अधिकारीले विराटनगर विमानस्थल आसपासको दुई बिघा जग्गा पनि निजी क्षेत्रलाई दिनेगरी तयार पारेको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ। मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भन्दै पार्टीभित्र आलेको चर्को विरोधसमेत भएको छ। शक्तिकेन्द्र, भूमाफिया र व्यावसायिक घरानाको आग्रह वा प्रभावमा प्राधिकरणको जग्गामा निजी क्षेत्रलाई प्रवेश गराउने उद्देश्य राखिएको भन्दै पार्टीका नेताहरूले आलेको आलोचना गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *