काठमाडौं : संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक विधेयक २०७८ माथि छलफल चल्दै थियो। विनियोजन विधेयकमाथिको छलफलमा सर्वाधिक खोजी गरिएका प्रधानमन्त्री शेरबहादुर देउवा चार घण्टापछि हस्याङ फस्याङ संसद भवन आइपुगे। प्रधानमन्त्री देउवा उपस्थित हुनु र छलफलमा भाग लिने सांसद प्रेम सुवालको पालो आउनु सँगै भयो। उनै सुवालले विनियोजन विधेयकका क्रममा प्रधानमन्त्रीको खोजी गरेका थिए।
प्रधानमन्त्री आइपुगेपछि सांसद सुवालले गुनासो गरिहाले, ‘प्रधानमन्त्रीज्यू संसद बैठकमा उपस्थित हुनुभयो। अलिकति अगाडि आइदिनुभएको भए प्रधानमन्त्रीज्यूको मुखबाट जवाफ सुन्न पाइन्थ्यो।’
सुवालको गुनासोमा प्रधानमन्त्री देउवाले ‘हो’ ‘हो’ भन्दै मुन्टो हल्लाए। मञ्चबाट सभामुखतर्फ इशारा माग्दै बोल्न खोजे। लगत्तै सभामुख सापकोटाले ‘अहिले भइगो’ भन्ने जवाफ फर्काए। देउवाले पनि हातकै इशारामा ‘ल ल ठिक छ’ भन्ने भावमा हात दुईपटक घुमाए।
सुवालले आर्थिक विधेयकमा आफ्नो सम्बोधनलाई निरन्तरता दिए। प्रधानमन्त्री बैठकमा उपस्थित नभएको भन्दै प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बनाउन माग गरे। सुवालले आर्थीक विधेयक २०७८ माथि छलफलमा भाग लिँदै भने, ‘अर्थमन्त्रीज्यूको बजेट निर्माणमा सूचना बाहिर आयो। एक जना पूर्वनायव सुब्बा र एक जना सीए अनाधिकृत उपस्थित भए भन्ने छ। सीए भन्ने मान्छेको त केही खुल्दै खुलेको छैन। उसको पेशा नागरिकता खुलाउनुपर्यो। सांच्चै उहाँ विज्ञको रुपमा जानुभएको हो कि होइन? प्रधानमन्त्रीज्यूले पनि जवाफ दिन आवश्यक छ।’
सुवालले बोल्दै गर्दा अर्थमन्त्री शर्माले ध्यानपूर्वक नोट गरिररहेको दृश्य देखिन्थ्यो। संसदमा विनियोजन विधेयक २०७९ माथि छलफल चलिरहेका बेला प्रधानमन्त्री देउवा गैरआवासीय संघ र ‘नेपाल चेम्बर एक्स्पो २०२२’ को उद्घाटनमा सहभागी भएका थिए।