• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

प्रचण्डको दाबी : केपी ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता कार्यान्वयन गरिसक्यो

ByAgrim Post

Jun 16, 2022

काठमाडौं– सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेको आरोप लगाएका छन्।

माओवादीका दिवंगत नेता रितबहादुर खड्काको २१औं स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंको पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सन् २०१९ मा केपी ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरिसकेको दाबी गरे। यो तथ्य इतिहासमा रहेको भन्दै त्यसलाई हरेक नेपालीले बुझ्न आवश्यक रहेको उनको भनाइ छ।

प्रचण्डले अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गर्ने कार्य भइरहेको बताए। उनले एसपीपी सम्झौता गर्ने भन्ने कुरा झुटो भएको दाबी गर्दै नेपालले अमेरिकासँग एसपीपीजस्ता कुनै सैन्य सम्झौता नगर्ने घोषणा गरे।

‘हिजोआज एउटा चाहिँ प्रश्न एसपीपी हुँदै छ रे, ल सैनिक सम्झौता हुँदै छ रे भनेर, भइनै सक्यो रे भन्याजस्तो गरी प्रचार गरिएको छ। विल्कुल झुटो हो,’ प्रचण्डले भने, ‘म गठबन्धनको एउटा नेताको हैसियतले र प्रधानमन्त्रीसँग र गठबन्धनमा हाम्रो भएको छलफलमा यस्तो कुनै सम्झौता भएको छैन। त्यस्तो कुनै सैन्य सम्झौता हुने छैन यो घोषणा म यहाँबाट गर्न चाहन्छु।’

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एसपीपी सम्झौता नहुने भनेर प्रतिवद्धता जनाएको प्रचण्डले उल्लेख गरे। ‘प्रधानमन्त्रीजीले म कुनै पनि हालतमा त्यस्तो सम्झौतामा जान्नँ भनेर कमिटमेन्ट गर्नुभएको छ। कोही भ्रममा पर्न जरुरी छैन,’ प्रचण्डले भने।

सबैभन्दा बढी आत्मसमर्पणवादतिर गएकाहरुले अहिले राष्ट्रवादको झुटो र पाखण्डी रुपले प्रचार गरेको प्रचण्डको टिप्पणी छ।

‘कुनै न कुनै रुपले राष्ट्रवादको झुटो र बडो पाखण्डी रुपले प्रचार गर्ने गरेको विगतमा पनि हामीले देखेको हो। जो सबभन्दा बढी आत्मसमर्पणवादतिर जान्छन्, उनीहरुले नै राष्ट्रवादको बढी हावा दिन गरेको अनुभव नेपाली जनतालाई छ,’ प्रचण्डले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *