नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले जिते पनि आफैँले जिते जस्तो लागेको बताउनुभएको छ ।
चितवनको भरतपुरमा समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा सम्वन्धी कार्यक्रममा उहाँले भन्नुभयो, ‘ ‘कांग्रेसले जिते पनि आफैँले जिते जस्तो लाग्छ, माओवादीले जिते पनि आफैँले जिते जस्तो लाग्छ, एमालेले जिते पनि आफैँले जिते जस्तो लाग्छ, खै मलाई के भएको हो यस्तो ? ‘ उहाँले स्थानीय तहको निर्वाचन कसले जित्यो कसले हार्यो भन्ने कुरा आफ्नो दिमागमा नरहेको बताउनुभएको छ ।
प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनपछि पनि अहिलेको गठबन्धन कायम रहने बताउनु भयो । प्रचण्डले अहिलेको गठबन्धन प्रदेश र संघको निर्वाचन पछि शान्ति प्रकृयाका बाँकी कामसमेत पूरा गर्ने गरी अगाडि जाने बताउनुभयो ।
कार्यक्रममा उहाँले अहिले देशमा सबैसँग मिलेर जाने प्रवृति र एक्लो वीर बन्ने प्रवृतिबीचको लडाईं चलिरहेको बताउनुभयो ।