नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहाल पनि केन्द्रीय सदस्य नियुक्त भएकी छिन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी गंगासहित उनका श्रीमान् जीवन आचार्यलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
प्रचण्डले यसअघि गंगा र जीवनलाई केन्द्रीय सदस्यमा प्रस्ताव गर्दा चर्को विरोध भएको थियो। त्यसपछि उनी केही समय पछि हटेका थिए। यसअघि प्रचण्डपुत्री रेनु दाहाल पनि केन्द्रीय सदस्य बनिसकेकी छन्। उनी भरतपुर महानगरपालिकाको मेयर पनि हुन्।
त्यस्तै, माओवादी नेता दीनानाथ शर्माकी छोरी कल्पना शर्मा पनि केन्द्रीय समिति सदस्य बनेकी छन्।माओवादीले आइतबार (१९ असार) बसेको पहिलो केन्द्रीय समितिको बैठकमा प्रचण्डले केन्द्रीय सदस्य थप गरेको जानकारी गराएका थिए।
गत पुसमा भएको आठौं राष्ट्रिय महाधिवेशनमा २ सय ४७ केन्द्रीय समिति चयन गरिएको थियो। त्यसयता केन्द्रीय सदस्य थपिएको थिएन।माओवादी केन्द्रको विधानमा २ सय ९९ सय सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ।