• Fri. Jun 9th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

ठेला जोगाउन हात जोडेर चित्कार

ByAgrim Post

Feb 9, 2023

२६ माघ, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित बुटवल पावर कम्पनीबाट छिर्ने गल्लीमा बिहीबार दिउँसो एक महिला डाँको छोडेर रुँदै थिइन् । उनी दुई हात जोडेर भन्दै थिइन्-मलाई छाड्दिनू दाई ।

धोबीखोला करिडोरबाट बुद्धनगर छिर्ने गल्लीमा ठेलामा मकै बेचिरहेको अवस्थामा महानगर प्रहरी टोलीले देखेपछि उनी ठेला लिएर भाग्छिन् । तर महानगर प्रहरी टोलीले उनलाई लखेट्छ । करिब २ सय मिटर भन्दा धेरै लखेटेपछि उनी भाग्न सक्दिनन् । ठेलामुनि छिरेर उनी डाँको छोडेर रुन थाल्छिन् ।

प्रत्यक्षदर्शी उर्गेन तामाङ भन्छन्, ‘ठेला कुदाउँदै ती दिदी बुद्धनगर भित्र छिर्नुभयो । तर महानगर प्रहरीले उनलाई छोडेन । भित्र आएर ठेला भेट्टाएपछि दिदी ठेलामुनि छिरेर रुन थालिन् । महानगर प्रहरीले उनलाई थर्काइरह्यो ।’

ठेलामा मकै बेचेर आफ्नो घर व्यवहार चलाउँदै आएकी उनी मीनभवनमा बस्दै आएको बताउँछिन् । साढे दुई वर्षको छोरालाई ठेलामै राखेर मकै पोलेर बेच्ने गरेको र मकै बेच्ने ठाउँबाटै छोरालाई स्कुल पठाउने गरेको उनी बताउँछिन् । ‘जाने बेला मकै पनि टन्न ठेलामा हालेर हिँड्छु, बाबुको स्कुल छुट्ने बेलामा मकैपनि सकिन्छ, अनि घर ल्याउने गरेको छु’ उनले आफ्नो पीडा सुनाइन् । छोरा ९ महिना भएदेखि नै एकापट्टी ठेलामा राखेर मकै बेच्दै हुर्काएको ती महिला बताउँछिन् । ‘थोरै समय दिएपनि त्यही समयमा मकै पोलेर बेच्न हिंड्न हुन्थ्यो नि । बिहान ७ बजेपनि खेद्ने, बेलुका ७ बजेपनि खेद्ने के गरेर खानु अब ?’

ठेलामा मकै बेच्नेबाहेक अरु काम गर्न हातले नसक्ने उनी बताउँछिन् । एउटा हातका औंलाहरु आगोले जलेका कारण अरु काम गर्न नसक्ने उनी सुनाउँछिन् ।

महानगर भन्छ : सम्झाएर छोडेका हौं

महानगरले ज्यादती गरेको भन्दै अहिले ती महिलाले चित्कार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । तर काठमाडौं महानगरपालिकाले उनलाई एकचोटी चेतावनी दिएर छोडेको बताउँछ ।

‘महानगर प्रहरीले बुद्धनगर छेउमा पीच सडकमै ठेला राखेर मकै बेचिरहेको पाएपछि हाम्रो टोली उहाँलाई सोधपुछ गर्न गएका थियौं,’ महानगर प्रहरी उपरीक्षक दिनेश अर्याल भन्छन्, ‘हामी नजिक पुगेपछि उहाँ भाग्नु भयो, एकचोटीको लागि भनेर हामीले सम्झाएर आएका छौं ।’

उनले काठमाडौं महानगरपालिकामा ठेलामा सामान राखेर बेच्न निषेध भनेर पटक पटक सूचना दिएपनि अटेर गरेकोले कारबाही गर्नु स्वभाविक भएको दाबी गरे । ‘महानगरपालिकाले निषेध गरेको कुरा कसैले पनि गर्न भएन, त्यहि अनुसार नगर प्रहरीले काम गर्ने हो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *